
काठमाडौं, २५ असोज । बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्ग १४ दिनको अवरोधपछि अन्ततः एकतर्फी रूपमा खुलेको छ ।
सडक विभाग र स्थानीय पालिकाहरूले दिनरात काम गरेर राजमार्गलाई पुनः सञ्चालनमा ल्याएको हो ।
राजमार्गको पुनः सञ्चालन रोशी गाउँपालिकाको वडा नं. ९ मंगलटारस्थित बोक्सीकुनामा निर्माण गरिएको डाइभर्सनबाट सम्भव भएको हो ।
गत असोज ११ र १२ गते आएको विनाशकारी बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको खण्डलाई पूर्ण रूपमा अवरुद्ध गरेको थियो । यो अवरोधले दुई हप्तासम्म यातायात सेवालाई ठप्प पारेको थियो, जसले गर्दा स्थानीय र यात्रुहरूलाई ठूलो असुविधा भएको थियो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाकाअनुसार राजमार्गको केही भागमा एकतर्फी र अन्य भागमा दुईतर्फी यातायात सञ्चालन भइरहेको छ । उहाँले शुक्रबार बिहान ८ बजेदेखि राजमार्ग खुलेको बताउनुभयो ।
सडक पुनर्निर्माणको प्रक्रियामा नवीन समाधानहरू अपनाइएका छन् । धेरैजसो स्थानमा खोलाको बहावलाई फर्काएर बगरमा अस्थायी सडक निर्माण गरिएको छ ।
बीपी राजमार्गको पुनः सञ्चालनले काठमाडौं र पूर्वी नेपालबीचको महत्त्वपूर्ण सडक सम्पर्क पुनर्स्थापित गरेको छ । यो राजमार्गबाट दैनिक हजारौं सवारी साधनहरू आवतजावत गर्ने गर्दछन् ।
योसँगै दशैंमा यात्रुहरूलाई टीका लगाउन र परिवारसँग समय बिताउन घर जान सजिलो भएको छ ।
त्यसैगरी, साना सवारी साधनहरू लिएर घर गएकाहरूलाई काठमाडौं फर्कन पनि सहज हुनेभएको छ ।








प्रतिक्रिया