३० जेष्ठ २०८३, शनिबार

सुर्खेतमा एकीकृत समाजवादीका नेताहरू एमालेमा फर्किए

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, २४ असोज । नेकपा (एकीकृत समाजवादी) सुर्खेतका नेताहरु नेकपा (एमाले)मा फर्किएका छन् ।

माधवकुमार नेपालले एमाले विभाजन गरेर समाजवादी पार्टी गठन गरेको औचित्य पुष्टि हुन नसकेको र कम्युनिष्ट आन्दोलन झनझन कमजोर हुँदै गएको ठहर गर्दै बलियो कम्युनिष्ट पार्टी बनाउन आफ्नो पुरानो पार्टी एमाले फर्केको उनीहरूको भनाइ छ ।

एमाले वीरेन्द्रनगर नगर कमिटीको आयोजनामा दशैं, तिहार तथा छठ २०८१ को अवसरमा आज आयोजित शुभकामना एवं पार्टी पुनर्मिलन कार्यक्रममा समाजवादीका प्रभावशाली नेताहरु एमालेमा फर्किएका हुन् । उनीहरूको प्रवेशले एकीकृत समाजवादी निक्कै कमजोर अवस्थामा पुगेको छ ।

पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य लोकप्रसाद चालिसे, जिल्ला उपसचिव छबिलाल सापकोटा, जिल्ला कमिटी सदस्य महेन्द्रप्रसाद खनाल, वीरेन्द्रनगर नगर कमिटी सचिव सुरेन्द्र बिसी, जिल्ला कमिटी सदस्य टंकप्रसाद आचार्य, खड्क खत्री, चन्द्रकुमार गिरी, चक्रबहादुर घर्ती, प्रकाश थापालगायतका नेताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई पार्टीमा स्वागत गर्दै एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विगतमा पार्टी छाडेर अर्को पार्टी गठन गरेर हिँडेका साथीहरु पार्टीमा फर्केकाले सुर्खेतको एमाले झन बलियो भएको बताउनुभयो । गत वर्ष भएको निर्वाचनमा एमाले एक्लैले सबै पार्टीलाई हराएको भन्दै समाजवादीका अधिकांश जिल्ला नेताहरु एमालेमा समाहित हुँदा झन ठूलो शक्ति आर्जन भएको उहाँले उल्लेख गर्नुभयो ।

पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, एमाले कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्का, गणेश वली, एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटालगायतले बोल्नुभएको थियो ।