
काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।
गएराति उहाँले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिनुभयो ।
उहाँको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मूले उहाँको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक आइकन गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा एक भिजनकारी बिजनेस लिडर भएको बताउनुभएको छ । टाटाले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको मोदीले स्मरण गर्नुभएको छ ।
रतन टाटाको निधनपछि टाटा समूहको उत्तराधिकारी को बन्छ ? भन्नेबारे चर्चा सुरु भएको छ । रतन टाटाका सौतेनी भाइ नोएल टाटा टाटा समूहको उत्तराधिकारी बन्ने चर्चा छ । उहाँ नवल टाटाको दोस्रो पत्नीका छोरा हुनुहुन्छ ।
नोएल टाटाका तीन सन्तानलाई पनि सम्भावित उत्तराधिकारीको रुपमा हेरिएको छ । ३९ वर्षीया लिया टाटा, ३४ वर्षीया माया टाटा र ३२ वर्षीय नेभिल टाटालाई पनि सम्भावित उत्तराधिकारीको रुपमा हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टाटा समूह जमशेदजी नौशेरजी टाटाले करिब १५० वर्षअघि स्थापना गर्नुभएको थियो ।
हाल यस समूहमा १/२ नभई १०० भन्दा बढी कम्पनी छन्, जसको कारोबार ३८०० करोडभन्दा बढी छ । हालै टाटा समूहले एयर इन्डियालाई पनि अधिग्रहण गरेको थियो ।








प्रतिक्रिया