
काठमाडौं, २३ असोज । नेपाली समलिंगी पुरुष र अमेरिकीबीच विवाह दर्ता भएको छ । नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको सम्भवत यो पहिलो घटना हो ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ ।
विवाह प्रमाणपत्रमा दुवै जना पति उल्लेख गरिएको छ । जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले बधाई दिनुभएको छ ।
मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिंगी/तेस्रोलिंगी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहनुभएकाका पन्तले जानकारी दिनुभयो । पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सेयर गर्दै जोसेफ र प्रजितको चाँडै विवाह उत्सव हुन गइरहेको उल्लेख गर्नुभएको छ ।
१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन् ।
माया गुरुङ र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिंगी तेस्रो लिंगी जोडीको विवाह दर्ता गर्न सफल हुनुभएको थियो । १३ मंसिर २०८० मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराउनुभएको थियो ।








प्रतिक्रिया