
सुनसरी, २१ असोज । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिएँ । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।’
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।
यसैगरी, भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।’
बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका जनाइएको छ ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।
उहाँले बाढीबाट दुई करोड ५० लाख रुपैयाँ बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ ।’









प्रतिक्रिया