३१ जेष्ठ २०८३, आइतबार

गाउँघरमा दशैं आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ असोज । मकवानपुरका गाउँगाउँमा दशैं आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।

दशैंको घटस्थापना सुरु भएदेखिनै कुन पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबैभन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी ५ का वृद्धा उसाकला सापकोटा बताउनुहुन्छ ।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ ।’ घरअघि थुचुक्क बस्नुभएकी गौरी पुरानो घर नियान्दै उहाँ भन्नुहुन्छ, ‘उहिलेको दशैं त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो । अबको दशैं त छोराछोरी आउँलान् अनि लाग्ने त होला ।’

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन । हरेक जसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ ।

यसरी घरको रंगमा मात्रै होइन, बनोटमासमेत फरक आइरहेको छ । मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो ।