९ असार २०८३, मंगलबार

आज एकैदिन प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा दश करोड बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज एकैदिन १० करोड २६ लाख रूपैंया हस्तान्तरण भएको भएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न राजनीतिक दल साथै संघ संस्थाले सहयोग हस्तान्तरण गरेका हुन् । ग्लोबल आइएमइ बैँक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।

यसैगरी, नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले चेक हस्तान्तरण गर्नु भएको हो ।

यस्तै आजै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले दैवी प्रकोप उद्धार कोषका लागि पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गर्नुभएको हो ।

आजै नेपाल बैंकका तर्फबाट अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले २ करोड, नेपाल निर्माण व्याबसायी विकास परिषदका तर्फबाट अध्यक्ष एवं भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्री देवेन्द्र दाहालले एक करोड, एनएमबी बैँकका अध्यक्ष मनोज गोयलले ५१ लाख, नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गर्नुभयो । सहयोग गर्ने सबै संस्थाहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताउनुभयो ।