३ श्रावण २०८३, आइतबार

हेटौंडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० असोज । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौंडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ । यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आजबाट सवारीसाधन सञ्चालन हुने भएको हो ।

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आजबाट सडक सञ्चालनमा आउने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘फाखेल सडकखण्ड आज दिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ । हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार पारेका छौँ । अब कुनै ठूलो समस्या नआए आज दिउँसोबाट सवारीसाधन निर्वाध सञ्चालन गर्न सकिन्छ ।’

निर्देशक पोखरेलले कुलेखानी ड्याममुनिको पुलको पहुँच मार्ग भत्किएकोभन्दा केही तलबाट डाइभर्सन निर्माण गरेको जानकारी दिनुभयो ।

यस्तै, महालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उहाँको भनाइ छ । निर्देशक पोखरेलकाअनुसार फाखेल सडक भएर आज केही मोटसाइकल सञ्चालनमा आएका छन् भने त्यस सडकखण्डमा फसेका सवारीसाधानसमेत गन्तव्यतर्फ लागेका छन् ।

यता, कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उहाँको भनाइ छ । त्यस सडकखण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिनुभयो ।

कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइरहेको काम र यातायात सञ्चालनको पूर्वतयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको टोली निरीक्षणको लागि फाखेल महालक्ष्मी पुगेको थियो ।