
काठमाडौं, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री खुला गरेको हो ।
यस्तै, च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिनुभयो । हेटौंडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दशैंमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।
निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दशैंमा ठूलो संख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गरेका छन् ।








प्रतिक्रिया