२४ असार २०८३, बुधबार

विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १९ असोज । अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई सहज वातावरण बनाउन नेकपा (एमाले) कोशी प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विपद् व्यवस्थापनमा रफ्तार बढाउन आग्रह गर्नुभएको हो ।

विशेष विपद् प्राधिकरण गठन गरेर उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणको कामलाई गति दिन एमालेले प्रदेश सरकारलाई सुझाव दिएको छ । मृतकका परिवारलाई राहत, घाइतेहरूलाई निःशुल्क उपचार, बेपत्ता भएकाहरूको खोजी, विस्थापितहरुको पुनर्स्थापना र बालीनाली क्षति भएकाहरूलाई राहत सहयोग उपलब्ध गराउन एमालेको आग्रह छ ।

कोशी प्रदेशका धेरै ठाउँमा सडक र पुलहरुमा क्षति पुगेको छ । जसका कारण सवारी आवतजावत हुन नसक्दा समस्या भइरहेको छ । सडक तथा पुलहरू मर्मत गरेर वा वैकल्पिक उपाय लगाएर भएपनि दशैं अघि आवतजावत हुने वातावरण निर्माण गर्न एमालेले ध्यानाकर्षण गराएको छ ।

एमालेले जिल्ला-जिल्लाबाट क्षतिको विवरण पनि संकलन गरेको छ । त्यस विवरण पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको कार्यक्रममा सहभागि एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिदैँ दशैं अघि धेरै सडक र पुलहरू पुनःनिर्माण गरेर वा वैकल्पिक उपाय लगाएर भएपनि आवतजावत गर्ने वातावरण मिलाइने उल्लेख गर्नुभयो । यसका लागि तत्काल एक्सनमा उत्रन सम्बन्धित मन्त्रालयका मन्त्री तथा कर्मचारीहरूलाई मुख्यमन्त्री कार्कीले निर्देशन पनि दिनुभएको छ ।