
चितवन, १९ असोज । सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ का सदस्य रवि लामिछानेलाई भेट्न गएको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थी संगठन संगठन अनेरास्ववियुले जनाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)काअनुसार सहकारी पीडितहरूसँग ऐक्यबद्धता जनाउन कार्यक्रम स्थलमा पुग्नुभएका अनेरास्ववियु चितवन जिल्ला अध्यक्ष हरि आचार्यलगायत केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य एवं चितवन जिल्ला इन्चार्ज अमित गुप्ता, जिल्ला अध्यक्ष हरि आचार्य र उपाध्यक्ष सरोज तिमल्सिनालगायत केही सहकारी पीडितहरू घाइते भएको संगठनले जनाएको छ ।
अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले प्रहरी कारबाहीको भर्त्सना गरेको छ र गिरफ्तार गरिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले विज्ञप्ति जारी गर्नुहुँदै चेतावनी दिनुभएको छ कि यदि शान्तिपूर्ण मागलाई बेवास्ता गरिए सशक्त संघर्षमा उत्रन बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित पक्ष र गृह प्रशासनको हुनेछ ।
शनिबार दिउँसो सहकारी पीडितहरूले नारायणी कला मन्दिर परिसरमा रास्वपा सभापति लामिछानेविरुद्ध प्रदर्शन गरेका थिए । लामिछानेले आयोजना गर्नुभएको ‘चितवनबासीसँग भेटघाट’ कार्यक्रममा सहकारी पीडित र लामिछानेका कार्यकर्ताबीच झडप भएको थियो । घटनामा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेको बताइएको छ ।
सभापति लामिछानेविरुद्ध यो लगातार दोस्रो दिनको प्रदर्शन हो । हिजो शुक्रबार पनि चितवनको मुग्लिनमा सहकारी पीडितहरूले लामिछानेविरुद्ध कालो झण्डा र ब्यानर प्रदर्शन गरेका थिए ।









प्रतिक्रिया