
चितवन, १९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी पीडितहरूले आज पनि चितवनमा प्रदर्शन गरेका छन् ।
शनिबार दिउँसो चितवनको नारायणी कला मन्दिरमा लामिछानेले आयोजना गर्नुभएको ‘चितवनबासीसँग भेटघाट’ कार्यक्रममा सहकारी पीडित र लामिछानेका कार्यकर्ताबीच झडप भएको हो ।

कार्यक्रममा सभापति लामिछानेसँग भेट गर्न आएका सहकारी पीडित र लामिछानेका कार्यकर्ताबीच घम्साघम्सी भएको हो ।
सहकारी पीडितहरूलाई कार्यक्रम स्थलको गेटभित्र प्रवेश गर्न नदिइएपछि उनीहरूले जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए । त्यसपछि भित्रबाट ढुंगा र पानीको बोतल फ्याँकिएको र बाहिरबाट पनि ढुंगा हानाहान भएको बताइएको छ । यस क्रममा केही व्यक्तिहरू घाइते भएका छन् ।

सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीकाअनुसार दुई जना घाइते भरतपुर अस्पतालमा उपचाररत छन् । उहाँले आफूहरूमाथि हातपात भएको र प्रहरीले पाँच जना पीडितलाई पक्राउ गरेको बताउनुभयो ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन केही समय लागेको जनाएको छ ।

यसैबीच, रास्वपाले घाइते भएकाहरू सहकारी पीडित नभई कांग्रेस र एमालेका कार्यकर्ता भएको दाबी गरेको छ ।
सभापति लामिछानेको सचिवालयले कांग्रेस र एमालेका कार्यकर्ताहरूले कार्यक्रम विथोल्न खोजेको आरोप लगाएको छ ।
यो घटना लामिछानेविरुद्ध लगातार दोस्रो दिनको प्रदर्शन हो । हिजो शुक्रबार पनि चितवनको मुग्लिनमा सहकारी पीडितहरूले लामिछानेविरुद्ध कालो झण्डा र ब्यानर प्रदर्शन गरेका थिए ।









प्रतिक्रिया