
काठमाडौं, १९ असोज । गत शुक्रबार र शनिबार गएको भीषण बाढीपहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् ।
बडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । यस कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।

बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो । तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ । नगरप्रमुख मोहन बस्नेतकाअनुसार वर्षाका कारण कसैले पनि कल्पना नगरेको क्षति व्यहोर्नु परेकाले सबै मिलेर मन्दिर सफा गरेको जानकारी दिनुभयो । ‘दशैंको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथ विपद्लाई सामना गर्नुपर्ने अवस्था छ । नगरपालिका र समितिको संयुक्त प्रयासले गर्दा भक्तजन आउन सहज अवस्था भएको छ,’ उहाँले भन्नुभयो,‘अपाङ्ग र ज्येष्ठ नागरिकहरुका लागि छिटो दर्शन गर्ने वातावरण मिलाएका छौँ । साथै औषधिको पनि व्यवस्था गरेका छौँ ।’
नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताउनुभयो । नेपाल आर्मी, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्था, स्वंमसेवक र हामी सबै मिलेर पाँच दिन यता सरसफाइमा जुटिरहेको उहाँले जानकारी दिनुभयो ।
दक्षिणकाली–६ का वडाध्यक्ष शैलेसमान मानन्धरले नगरपालिका, वडा कार्यालय, व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र भक्तजनहरुको सहयोगमा बाटो खुलाउने र फोहोरहरु सफा गरेर मन्दिर सुचारु गरिसकेको जानकारी दिनुभयो ।








प्रतिक्रिया