
हेटौंडा, १९ असोज । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ साततल्लेमा एउटा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।
शनिबार बिहान काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२०-००१ ज ४३२८ नम्बरको इलेक्ट्रिक भ्यान आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेर पल्टिएको थियो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा गाडीका चालक ५२ वर्षीय देवी थापा (धनकुटा), ३० वर्षीया प्रमिला तामाङ र ४८ वर्षीया बिना तामाङ लामा (काठमाडौं) रहेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको छ ।
प्रहरीकाअनुसार चालक थापाको खुट्टामा र प्रमिला तामाङको टाउकोमा सामान्य चोट लागेको छ भने बिना तामाङको शरीरमा मध्यम खालको चोट लागेको छ । गाडीमा सवार अन्य नौ जना यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको र यातायात सुचारु रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया