
काठमाडौं, १८ असोज । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिनुभयो । एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताउनुभयो ।
सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।
शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो ।
घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जनको निधन भएको थियो ।
यसैगरी, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो ।
एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमिभन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तव्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको लिम्बूले बताउनुभयो ।
अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरु नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया