
हेटौंडा, १७ असोज । मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
मनहरी र मकवानपुरगढी गाउँपालिकामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
मकवानपुरगढी गाउँपालिका-५ मा बुधबार बिहान ६४ वर्षीया गोमाकुमारी दमाईलाई ज्यामिरे खोलाले बगाएको थियो । उहाँको शव सामरी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
यसैगरी, मनहरी गाउँपालिका-६ का ५५ वर्षीय भद्रबहादुर राईलाई सोमबार राप्ती खोलाले बगाएको थियो । गोठाला जाने क्रममा उहाँ बेपत्ता हुनुभएको थियो । खोजी गर्ने क्रममा उहाँलाई मनहरीकै मचाङमा घाइते अवस्थामा फेला पारिएको थियो ।
प्रारम्भिक उपचार मनहरी अस्पतालमा गरिएपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । तर उपचारकै क्रममा राईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।








प्रतिक्रिया