
काठमाडौं, १५ असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धि तत्काल नियमन गर्न माग गरेको छ ।
मंगलबार अनेरास्ववियुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धि तत्काल रोक्न र हवाई क्षेत्रमा सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले बुझाउनुभएको ज्ञापनपत्रमा हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गर्न माग गरिएको छ ।

विशेषगरी हालैको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र दशैंको समय नजिकिँदै गर्दा हवाई भाडा अत्यधिक बढेको उल्लेख गर्दै यसले आम जनतालाई प्रत्यक्ष मारमा पारेको अनेरास्ववियु जनाएको छ ।
ज्ञापनपत्रमा हवाई यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको नीतिगत प्रबन्ध गर्न पनि माग गरिएको छ । साथै, बढ्दो हवाई दुर्घटनालाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरूको प्रभावकारी नियमन र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पालना गर्न जोड दिइएको छ ।
अनेरास्ववियुले नेपाल एयरलाइन्सलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र नाफामूलक संस्थाको रूपमा विकास गर्न रणनीतिक योजना बनाउन पनि माग गरेको छ ।
अनेरास्ववियुले जनताका गुनासोहरूलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ ।











प्रतिक्रिया