७ असार २०८३, आइतबार

बाढीपहिरोबाट प्रभावित राजमार्ग सुचारु गर्न सम्पूर्ण प्रयास जारी छ: रामहरि पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीपहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो महामारीमा सबभन्दा बढी पीडित भनेको सडक नै परेको छ । हामी सडक सुचारुको लागि अहोरात्र खटिएका छौँ । यति हुँदापनि जनताले चाहेको जस्तो हुन सकेको छैन् । हामीपनि पूर्ण सन्तुष्ट छैनौँ । तर, हाम्रो इफोर्ट चाहीँ लागिरहेका छौँ ।’

रिपोर्टर्स क्लब नेपालले आज (मंगलबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको सुनाउनुभयो । तर, सबै राजमार्ग सुचारु गर्नको लागि राज्य संयन्त्र लगाएर काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘असोज ११ र १२ गतेको अवस्था के थियो भने २३ वटा राजमार्गको ६९ वटाभन्दा बढी ठाउँमा राजमार्ग अवरुद्ध भएको अवस्था थियो । अहिले पछिल्लो स्थिति हेर्दा १२ वटा राजमार्गको ३४ स्थानमा अझैपनि अवरुद्ध छ । त्यसमा पनि मुख्यमुख्य राजमार्गको कुरा गर्नु पर्दाखेरि यो नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड, कान्ति, विपी राजमार्ग र पुष्पलाल राजमार्ग रहेका छन् ।’

महानिर्देशक पोखरेलले आफूहरुले सबै संयन्त्र लगाएर नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड एकतर्फी सुचारू गराएको सुनाउनुभयो । तर, एकतर्फी खोल्दा त्यहाँ अड्किएका सवारीसाधनलाई काठमाडौं भित्र्र्‍याइएको उहाँले जनाउनुभयो । अत्यावश्यक वस्तु (खाद्यान्नसहित) सवारीलाई प्रोटोकल मिचेर पनि आफूहरुले सुरूङमार्गमार्फत ल्याएको पोखरेलको भनाई छ । त्यसको लागि आफूहरुले जापानीहरुलाई अनुरोध गरिएको उहाँले स्पष्ट पार्नुभयो । आजै नै त्यस मार्ग दुईतर्फी सञ्चालनमा ल्याउनेगरी काम भैरहेको उहाँको भनाई छ ।

उहाँले विपी राजमार्गको अवरोध सुचारुको लागि चूनौती रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘विपी राजमार्गको चौकी डाँडा भन्ने ठाउँ (धुलिखेलबाट झण्डै ३४ किलोमिटरजति पर्छ) त्यहाँ साढे दुई किलोमिटर बाटो बगाएको छ । त्यसको अवरोध हटाउनको लागि हामीले सबै शक्ति लगाएका छौँ । सकेसम्म हामी विपी राजमार्ग खोल्न प्रयास गरेका छौँ । त्यहाँ दुई वटा पुल बगायो । एउटा खैरेनीघाट र अर्को खुर्कोटको पुल बगाएको छ । रामेछापसँग लिंक हुने अर्को पुल बाँकी छ । त्यो हो सित्खा भन्ने ठाउँको । सित्खाको पुल तरेर गाल्बा हुँदै मन्थलीबाट गाडीहरु पास भएका छन् । तर, त्यहाँ किरिनेटारमा पनि दुई सय मिटर वास भएछ, खिम्ती हाइड्रोपावर प्रोजेक्टलाई विशेष अनुरोध गरेका छौँ । त्यहाँको घर भत्काउनुपरे पनि बरु हामी क्षतिपूर्ति दिन्छौँ तर गाडी पास गरौँ भनेका छौँ ।’

उहाँले कान्ति राजमार्गको अवरोध अब क्लियर हुँदै गएको बताउनुभयो । बाग्मती पुलमा पनि बेलीब्रिज हाल्नुपर्ने अवस्था रहेको बताउनुभयो । मेची राजमार्गको बेलिब्रिज बगाएकोले अहिले डाईभर्सन प्रयोग गरेको सुनाउँदै त्यो दशैंअघि नै सुचारु हुने बताउनुभयो ।

यस्तै, अरनीको राजमार्ग बाह«विसे, दोलालघाट र धुलिखेल खण्ड क्लियर भएको उहाँको भनाई छ । दशैंअघि तातोपानी नाका चलाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अहिलेसम्म प्रारम्भिक क्षतिको विवरण हेर्दा दुई अर्ब ५२ करोड क्षति भएको तथ्यांक पेश गर्नुभयो । तर, विस्तृत विवरण आइपुग्दासम्म यो क्षतिको अंक बढ्नसक्ने उहाँले बताउनुभयो । देशव्यापी रुपमा क्षति भएका राजमार्गको स्थायी निर्माणको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिने र स्थायी रुपमा काम अघि बढाउने पोखरेलको भनाई छ ।

महामारीको अवस्थामा सडक विभागले सम्पूर्ण शक्ति लगाएर काम गरेकोले मिडियाले पनि प्रशंसा नै गरेको उहाँले सुनाउनुभयो ।