
लण्डन, १५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितहरुको लागि सहयोग गर्ने निर्णय गरेको हो । संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णयसमेत गरेको छ ।
संघका महासचिव गोविन्द खरेलले सञ्चालन गर्नुभएको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।
बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, युरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसीसी सदस्यहरु चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरु, स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष दिवाकार पाण्डे, इंल्याण्ड राज्य परिषद्का अध्यक्ष शम्भु अर्यालसमेतको उपस्थिति थियो ।
यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले राष्ट्रिय समितिहरुलाई राहत वितरणमा सक्रिय हुन अनुरोध गरेको थियो ।








प्रतिक्रिया