
काठमाडौं, १५ असोज । इजरायलले लेबनानमा जमिनी आक्रमण सुरु गरेको बताएको छ ।
इजरायलको सेनाले दक्षिणी लेबनानबाट जमिनी आक्रमण सुरु गरेको जानकारी दिएको हो ।
इजरायलले अहिलेसम्म लेबनानमा हवाई आक्रमण मात्र गरेको थियो । यसअघि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको थियो ।
इजरायलले आफ्ना एक लाख भन्दा बढी विस्थापित नागरिकलाई लेबनानको सीमा क्षेत्रमा फर्काउन जमिनी कारबाही आवश्यक रहेको बताउँदै आएको छ । इजरायलले जमिनी आक्रमण सुरु गरेपछि यो लडाई लामो समयसम्म चल्ने विश्लेषण गरिएको छ । इजरायलले पनि यसको समय सीमा तोकेको छैन ।
इजरायलको आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहसहित लगभग सबै शीर्ष कमान्डर मारिएका छन् ।









प्रतिक्रिया