२० असार २०८३, शनिबार

रौतहटका बाढीपीडित परिवारलाई राहत वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १४ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ५ बडहरवामा बाढी र डुबानबाट पीडित भएका परिवारहरूको लागि तत्काल राहत वितरण गरिएको छ ।

ग्रामीण विकास केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चालित आपतकालीन बाढी प्रतिकर्य २०८१ अन्तर्गत राहत वितरण गरेको हो । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी र डुबानले प्रभावित ५० घरपरिवारलाई प्रत्यक्ष रूपमा उनीहरूकै समुदाय/टोल बडहरवा पुगेर आकस्मिक खाद्यान्न सामाग्रीहरु, अस्थाई आवास (म्याट, त्रिपाल र डोरी, महिला सरसफाई सामाग्री, हाइजीन किट सेट)लगायत १५ किसिमका आवश्यक सामग्रीहरु प्रदान गरिएको छ ।

कार्यक्रम सहजकर्ता ज्योती फुयाँलकाअनुसार स्थानीय प्रशासन र प्रहरीको सहयोगमा वितरण गरिएको राहत सामग्री विशेषगरी हाल विस्थापित साथै अति विपन्न तथा गरिब परिवारलाई प्राथमिकतामा राखिएको थियो ।

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु सिंहले बाढीको कारणले घरबारविहीन भएका पीडितहरूलाई केही राहत मिलेको बताउनुभयो । सिंहको आग्रहमा अक्सफाम नेपालले दिएको सहयोगबाट ग्रामीण विकास केन्द्र नेपालले यो सहयोग गरेको हो । सिंहले यसअघि पनि प्रारम्भिक अवस्थामा चिउरा, भुजा र दालबुट जस्ता आपतकालीन खाद्य सामग्री वितरण गर्नुभएको थियो ।

राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धर्मनाथ चौधरी, अक्स्फाम नेपालका प्रतिनिधि विवेक कार्की, आरडीसी नेपालका कार्यकारी निर्देशक आशिष कुमार सिंह तथा कार्यक्रम संयोजक चिरञ्जीवी महत्वकोसमेत सहभागिता रहेको थियो ।

हाल आकस्मिक राहत प्राप्त गरे पनि करिब २५० घरपरिवार अझै पनि सडकमा बस्न बाध्य छन् । बाढीले निम्त्याएको आपतमा दुर्गा भगवती गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय गान्धी शाह र वडा नं ७ का राजकरण मुखियाको ज्यान गइसकेको छ । साथै, सर्पको टोकाइका कारण २० जनाभन्दा बढी सर्वसाधारण स्वास्थ्य जोखिममा परेका छन् ।  तत्काल थप राहत तथा उद्धारको आवश्यकता रहेको स्थानीय प्रशासनले जनाएको छ ।