
काठमाडौं, १२ असोज । निरन्तर वर्षाका कारण आएको बाढीले काठमाडौं उपत्यका र देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । राज्यका सबै निकाय र विभिन्न संघसंस्थाहरू उद्दार कार्यमा जुटेका छन् ।
नेकपा (एमाले)को भातृ संगठन जिफन्टलगायतका संस्थाहरू पनि सरकारी विपद् व्यवस्थापन र उद्दार संयन्त्रहरूसँग सहकार्य गरी सक्रिय रूपमा उद्दार कार्यमा संलग्न छन् ।

आजै बल्खु र कुलेश्वरको बीचमा जिफन्टले गरेको एक उद्धार कार्यको भिडियोले धेरैलाई भावुक बनाएको छ । करिब ८ महिनाको एउटा शिशुलाई उद्दार गरिएको दृश्यले धेरैको ध्यान खिचेको छ । यो उद्दार कार्यमा संलग्न युवाहरूको बारेमा धेरैले चासो देखाएका छन् । उद्दार कार्यमा खटिएको टोली जिफन्टको युवा कमिटी थियो । युवा कमिटीका केन्द्रीय अध्यक्ष विकी श्रेष्ठसहितको टोलीले यो उद्दार कार्य गरेको हो ।
‘करिब तीन बजेतिर हाम्रो टोली कुलेश्वर पुग्दा त्यहाँ एक दयनीय दृश्य देखियो । करिब ८ महिनाको बच्चासहित केही व्यक्तिहरूलाई उद्धार गर्नुपर्ने अवस्था थियो ।’ श्रेष्ठले भन्नुभयो, ‘हामीले तत्काल कुनै हिचकिचाहट बिना बच्चाको उद्धार गर्यौँ । बच्चा रोइरहेको थियो । बच्चा जति रुन्थ्यो, म पनि त्यति नै भावुक हुन्थेँ । जब बच्चालाई उद्दार गरेर आफन्तको जिम्मा लगाइयो, त्यतिबेला उहाँहरूको अनुहारमा देखिएको खुशीले मलाई जीवनकै सबैभन्दा ठूलो खुशीको अनुभूति दियो ।’
उहाँले सुरक्षा निकायहरूसँगको समन्वयमा आफूहरू उद्धार कार्यमा खटिएको र अन्य धेरै व्यक्तिहरूलाई पनि उद्दार गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया