३१ जेष्ठ २०८३, आइतबार

मनाङमा बेमौसमी हिमपात, जनजीवन प्रभावित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १२ असोज । हिमाली जिल्ला मनाङमा असोजमै बेमौसमी हिमपात भएको छ । सामान्यतया पुस-माघ-फागुनमा पर्ने हिमपात यो वर्ष असामान्य रूपमा चाँडो आएको हो । देशका अन्य भागमा अविरल वर्षा भइरहँदा मनाङमा वर्षासँगै हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

हिमपातले मनाङको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँ तथा मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । तिलिचो र थोराङ्ला क्षेत्रमा पनि उल्लेखनीय मात्रामा हिउँ परेको छ ।

हिमपातले किसानहरूलाई समस्या परेको छ ।  थन्क्याउने बेलाको करु र फापरलगायतका बालीहरूमा नोक्सानी पुगेको छ।

पर्यटन व्यवसायीहरूले हिमपातले पर्यटक आवागमनमा खासै असर नपरेको र पर्यटकहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन्  ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले वर्षासँगै हिमपात भइरहेको बताउनुभयो । उहाँले विपद्सँग प्रतिकार र पूर्वतयारीका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो ।

बेमौसमी हिमपातले यहाँको जनजीवनमा चुनौती थपेको छ र यसले जलवायु परिवर्तनको प्रभावलाई पनि इंगित गरेको छ ।