५ असार २०८३, शुक्रबार

उद्दार, राहत तथा घाइतेको उपचारमा सरकार गम्भीर भएर लागिपरेको छ : गृहमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । गृहमन्त्री रमेश लेखक बिहीबारदेखिको निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको दाबी गर्नुभएको छ ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिनुभयो ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाटसमेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘मुलुकमा ठूलो विपद्को स्थिति आएको छ ।’

उहाँले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताउनुभयो ।

‘ठूलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उहाँले भन्नुभयो, ‘उद्दार, राहतलगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’ वर्षाका कारण काठमाडौं भित्रिने सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

‘विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।’ उहाँले भन्नुभयो, ‘बाढी, पहिरोलगायत विपद् सम्बन्धि पूर्वसूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’

अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो ।

उहाँले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४सै घण्टा सक्रिय बनाइने बताउनुभयो । ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमासमेत समस्या भयो ।’ उहाँले भन्नुभयो, ‘स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।’