
काठमाडौं, १२ असोज । वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ ।
निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको काठमाडौं महानगरले जानकारी दिएको छ । टोलीहरु डुबान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।
वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको महानगरले जनाएको छ ।
जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो)को जोखिम भए काठमाडौं महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेको छ । साथै, आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्नसमेत महानगरले आग्रह गरेको छ ।








प्रतिक्रिया