
काठमाडौं, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी पहिरोको स्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
हाल संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गरी विस्तृत जानकारी लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुहुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको उल्लेख गर्नुभएको छ । तथापि, केही स्थानहरूमा उद्धार कार्यमा ढिलाइ भएको जानकारी प्राप्त भएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढाउन निर्देशन दिनुभएको छ । साथै, मौसमविद्हरूले थप वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै उहाँले नागरिकहरूलाई सतर्कता अपनाउन र सुरक्षाकर्मीहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विपत्तिलाई सबैको साझा चुनौतीको रूपमा चित्रण गर्दै यसको सामना मिलेर गर्न आह्वान गर्नुभएको छ ।
‘उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौँ । विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।








प्रतिक्रिया