२३ असार २०८३, मंगलबार

घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ ।

वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ ।

विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताउनुभयो ।

उहाँले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गर्नुभएको छ ।

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौँ । अहिले हामी एकदम तनावमा छौँ । हामीलाई एउटा पालको व्यवस्था गरिदिएपनि हुन्थ्यो । हाम्रो लागि त्यही ठूलो कुरा हुन्थ्यो होला । यहाँको प्रतिनिधिहरु कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न, त्यसकारण हामी एकदम पीडित छौँ । हामीसँग केही बचेन । पानी पिउनको लागि एउटा जगसमेत ल्याउन सकेका छैनौँ । खानेकुराको व्यवस्था गरिदिए एकदम आभारी हुने थियौँ ।’ उहाँको दुखेसो छ ।