३१ जेष्ठ २०८३, आइतबार

हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १२ असोज । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा सिङ्गापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का ६४ वर्षीय भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ का २२ वर्षीय विपन तामाङ रहेका छन् ।

शुक्रबार ती पर्यटकहरू सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्बिलामा बाटो भुली अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उनीहरूको उद्धारका लागि प्रहरी र स्थानीय परिचालन भएका थिए ।

‘भारी हिमपातका कारण करिब २ घण्टा तलको पैदल दूरीसम्म हिउँले बाटो पुरिएपछि उनीहरू अलपत्र परेका थिए, प्रहरीसहित पुगेको स्थानीयको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थान लबुचेमा ल्याएको छ ।’ प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो ।

स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई लबुचेस्थित होटलमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । रासस