३ श्रावण २०८३, आइतबार

काठमाडौंका नदीहरूमा पानी सतह उच्च, सतर्कता अपनाउन आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले अविरल वर्षाकाबीच आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

महानगरले विपद् सामनाका लागि पूर्वतयारी गर्न पनि आग्रह गरेको छ । महानगरपालिकाले दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भइरहेकोले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको छ । यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।’

सार्वजनिक सूचनामा नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजानसमेत सचेत गराएको छ । ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ । पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ,’ सूचनामा भनिएको छ, ‘सवारी प्रवेश नगराऔँ, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ ।’

महानगरपालिकाले जलजन्य विपद् (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल सम्पर्क गर्न पनि भनेको छ । बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा भइरहेको छ । यो क्रम अझै आइतबारसम्मै रहने मौसमविद्ले बताउनु भएको छ ।