२१ असार २०८३, आइतबार

सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पार्नुभएको हो ।

‘सरकार खुला किताब बनेर अघि बढ्छ । ढुक्क हुनुस्, सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छन्’ उहाँले भन्नुभयो, ‘सुशासन कायम भएमा भष्ट्राचार घट्दै जान्छ । यो दिशामा सरकारले आफ्नो काम अघि बढाएको छ । समाज रुपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाको हक कार्यान्वयन जरुरी छ ।’

प्रदेश सरकारले कर्मचारी तहमा १४बुँदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य तोक्ने, तस्वीरसहित फोन नम्बर राख्न, वेबसाइटमा पनि सूचना राख्न भनिसकेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । ‘सूचना प्राप्त गर्न सक्नु भएन भने सिधै मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गर्नुहोस्’ उहाँले भन्नुभयो ‘सूचनामा सबैको समान पहुँच पुर्‍याउन हामी जिम्मेवार छौँ ।’ उहाँले भन्नुभयो ।

सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने भनाइ उहाँको छ । ‘सरकार नागरिक प्रति उत्तरदायी छ । संवैधानिक र कानुनी रूपमा प्राप्त नागरिकको यो अधिकारलाई जति धेरै प्रयोगमा ल्याउन सकिन्छ, त्यति नै राज्य तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउँछ’ उहाँले भन्नुभयो, ‘सूचनाको हकसम्बन्धी कानुन मात्र यस्तो कानुन हो, जसले सुशासनलाई जरैदेखि बलियो बनाउन मद्दत गर्छ ।’