२६ जेष्ठ २०८३, मंगलबार

मन्त्री भण्डारीको कदमले घट्यो बजार मूल्य, उपभोक्तालाई राहत

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको छ ।

नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको छ । अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपयाँ घटेको पाइएको छ । यसका साथै दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ ।

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मूल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य वस्तुहरु उपलब्ध भइरहेका छन् । चाडपर्वको समयमा उपभोग्य वस्तुहरुको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको प्रयाप्तता रहेको छ । अहिले मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भइरहेको छ । ७ असोजमा ३५ रुपयाँ पर्ने बोतलको पानी १ सय रुपयाँमा बिक्री गरेको पाइएपछि काठमाडौंस्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी ३ लाख रुपयाँ जरिवाना असुल गरिएको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ ।

मन्त्री भण्डारीले एकसय दिनका लागि तयार गर्नुभएको कार्ययोजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्व सूचना बाहिरिने प्रवृत्ति हटाउनेलगायतका कुराहरु उल्लेख गर्नुभएको छ ।

नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रेका सामानहरु बिक्री वितरणमा कमी आएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहीन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताउनुभएको थियो । उहाँले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताउँदै आउनुभएको छ । सोही अनुरुप आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीतिगत सुधार गर्दै आउनुभएको हो ।