
काठमाडौं, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताउनु भएको छ ।
मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटबारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्डनै भएको बताउनु भएको हो ।
साथै मिश्रले कांग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गर्नुभयो ।
आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भन्नुभएको छ–
ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन् । नेपालको संविधान २०७२ वास्तवमा प्रचण्डको संविधान २०७२ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु । त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।








प्रतिक्रिया