
बुटवल, ८ असोज । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् ।
आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते हुनु भएको छ । मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट निस्कँदै गर्नुभएका कोषका पदाधिकारीमाथि आक्रमण गरेका हुन् ।
लुम्बिनी विकास कोषका पदाधिकारीलाई होटलको ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
२० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए । सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ ।
आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताउनुभयो । लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन् ।








प्रतिक्रिया