१९ असार २०८३, शुक्रबार

संघीयता, गणतन्त्र र समावेशिता कमजोर नहुनेगरी संविधान संशोधन हुन्छ : ईश्वर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संघीयता, गणतन्त्र र समावेशितालाई कमजोर बनाउनेगरी संविधान संशोधन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सिन्धुलीले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रमुख राजनीतिक शक्तिको सहमतिबाट नै संविधान संशोधन गरिने बताउनुभयो । पोखरेलले संविधान संशोधन गर्दा नेपालका सबै राजनीतिक दलहरूसँग सहमति गरेर मात्र गरिने स्पष्ट पार्नुभयो । शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायपालिका लगायतका विषय, संवैधानिक अंगसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचनालगायका विषयमा संविधान संशोधनको आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

एमाले र नेपाली कांग्रेसको सत्ता सहकार्यपछि बनेको वर्तमान सरकारले जनताको भावना अनुसार काम अगाडि बढाएको पोखरेलले दाबी गर्नुभयो । देशको आवश्यकताले कांग्रेस–एमालेको सत्ता समीकरण भएको उहाँले बताउनुभयो । कांग्रेस र एमाले सत्ता साझेदार भए पनि आगामी निर्वाचन भने दुई दल एक्ला एक्लै लड्ने सहमति भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनु पर्नेमा जोड दिनुभयो । अहिलेको संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भन्नका लागि कांग्रेस र एमाले एक ठाउँमा आएर साझा कार्यक्रम अगाडि बढेको उहाँले प्रष्ट पार्नुभयो ।

‘अहिले मुलुक संकटपूर्ण अवस्थामा छ, संकटपूर्ण अवस्थामा होस् नपुर्‍याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउन सक्छ ।’ उहाँले भन्नुभयो । पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीमा भएका कमी कमजोरीलाई सुधार गर्ने अभियान नेकपा एमालेले निरन्तर चलाइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले सिन्धुली जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य मनोजजंग थापा, केन्द्रीय सदस्य कमलजंग राई, सुवास देवकोटा, उमा कोइरालालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष विनय दाहालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कण घिसिङ, नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरि घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, एमाले जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यवाहक अध्यक्षसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको छ । उहाँले पार्टीको दृष्टिकोण, आगामी रणनीति र पार्टी नेताहरूले खेल्नुपर्ने भूमिका लगायतका विषयमा मन्तव्य राख्नुभएको थियो ।