
अमेरिका, ७ असोज । नेपाल र भुटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको हो ।
उहाँहरुको भेट राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको थियो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालकाअनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।
नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भुटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएको थियो ।
‘नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हुन सक्छ’
त्यसैगरी, प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएका राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गर्नुभएको छ ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालकाअनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गर्नुभएको थियो ।
यस्तै, भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्व दिनुपर्नेमा जोड दिनुभएको थियो ।









प्रतिक्रिया