
काठमाडौं, ६ असोज । श्रीलंकाको १०औँ राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमार दिसानायके बन्ने लगभग निश्चित देखिएको छ ।
शनिबार भएको राष्ट्रपति निर्वाचनमा श्रीलंकाका जनताले वामपन्थी नेता दिसानायकेलाई ठूलो समर्थन दिएका छन् । पछिल्लो मतगणना अपडेटअनुसार उहाँले ५२ प्रतिशत मत प्राप्त गर्नुभएको छ, जसले गर्दा उहाँ श्रीलंकाको आगामी राष्ट्रपति बन्ने लगभग निश्चित देखिएको हो ।
त्यस्तै, उहाँका प्रतिस्पर्धीहरु साजिथ प्रेमदासाले २३.९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेले १६.८ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको छ ।
श्रीलंकामा शनिबार राष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएको थियो । मतगणना हिजो साँझ ५ बजेपछि सुरु भएको थियो ।
राष्ट्रपति निर्वाचनमा १ करोड ७० लाख मतदातामध्ये करिब ७५ प्रतिशतले मतदान गरेका थिए ।
सन् २०२२ मा श्रीलंकाले भोगेको आर्थिक संकट र हिंसापछि यो पहिलो चुनाव भएको हो ।
यसैबीच, गएरातिदेखि श्रीलंकामा कर्फ्यू लगाइएको छ । वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेले मतगणना चलिरहेकै बेला राजपत्र जारी गर्दै कर्फ्यू आदेश जारी गर्नुभएको हो ।
मतगणनामा कुनै अप्रिय घटना हुन नदिन सावधानीका रूपमा कर्फ्यू लगाइएको श्रीलंकाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया