
काठमाडौं, ६ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश परिवर्तनको नेतृत्व कम्युनिष्टहरुले मात्र गर्न सक्ने बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा दाङमा आयोजित वृहत् युवा भेलालाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनलाई युवाले नै अघि बढाएका बताउनुभयो । हिजो कम्युनिष्ट पार्टीको जग नै युवाहरूले बसाएका पोखरेलका भनाइ छ । युवाहरू अल्लारे छन्, आलाकाँचा छन् भन्ने भ्रमलाई चिर्ने जिम्मेवारी युवाकै काँधमा भएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
राजनीतिमा कुन बाटो हिँड्ने भन्ने कुरा प्रमुख भएको पोखरेलले बताउनुभयो । मौरीसँग हिँडे महमा पुगिने र झिँगासँग हिँडे रछ्यानमा पुगिने पोखरेलको भनाइ छ । पोखरेलले कांग्रेस यथास्थितिवादी र माओवादी ध्वंसवादी शक्ति भएको सुनाउनुभयो । एमाले विकास र समृद्धिको बाटोबाट समाजवादतर्फ उन्मुख पार्टी भएको उहाँले अर्थ्याउनुभयो । त्यसैले कुन पार्टी रोज्ने भन्ने कुरा युवाले पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘राजनीतिमा कुन सिद्धान्त सही हो भन्ने कुरा हामीले छुट्याउन सक्नु पर्दछ ।’ पोखरेलले भन्नुभयो ।
अहिले पुराना पार्टी काम लाग्दैनन्, नयाँ पार्टी रोज्नु पर्दछ भन्ने प्रचार सुरु भएको भन्दै उहाँले यसैको परिणाम रवि लामिछाने र बालेन साहहरू जन्मिएका बताउनुभयो । तर निश्चित नीति, सिद्धान्त र दृष्टिकोणले मात्र राजनीति चल्ने उहाँको भनाइ छ । म चर्चित भएँ भनेर कोही राजनीतिमा आउँदैमा त्यो लामो समय टिक्न नसक्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
लोकप्रियताको पछि दौडँदा देश नै संकटमा पर्ने पोखरेलले बताउनुभयो । ‘राजनीति भनेको तरबारको धारमा हिँड्नु जस्तै हो, तरबारको धारमा हिँड्ने यात्रा जस्तै हो राजनीति, चारैतिरको निगरानीमा हुन्छ ।’ उहाँले भन्नुभयो ।
रवि लामिछाने नेपाली समाजले खोजे जस्तो पात्र नभएका पोखरेलले बताउनुभयो । एकभन्दा बढी विवाह गर्ने, एकभन्दा बढी पासपोर्ट बनाउने लामिछाने पछिल्लो समय त सहकारी नै डुबाउने कार्यमा संलग्न भएको पुष्टि भएको पोखरेलले स्पष्ट पार्नुभयो ।
काठमाडौंका मेयर पनि त्यस्तै चर्चाका पात्र रहेका उहाँले बताउनुभयो । जनतालाई प्रभावमा पार्ने क्षमता काठमाडौंका मेयरमा राम्रै भए पनि जनताको काम गर्ने क्षमतामा उहाँ असफल भएका प्रमाण पोखरेलले प्रस्तुत गर्नुभयो । ‘कामका मामलामा उनी योग्य देखिएनन्, आफूले बनाएको बजेट सबैभन्दा कम खर्च गर्ने मेयरका रूपमा उनी स्थापित भए ।’ महासचिव पोखरेलले भन्नुभयो ।
केपी ओली प्रधानमन्त्री भएका बेलाका कामका भिडियो हालेर बालेनले चर्चामा आउने प्रयत्न गरिरहेका उहाँले बताउनुभयो । सरकारसँग टसल्ट गरेर चर्चामा आउने प्रयत्न गरिरहेका बालेन जनताको लागि काम गर्न योग्य जनप्रतिनिधि होइनन् भन्नु कुरा पुष्टि भइसकेको उहाँले प्रष्ट पार्नुभयो ।
विदेश जाने युवालाई लक्षित गर्दै पोखरेले नेपाली युवाले विदेशमा गएर गरेको सरह काम नेपालमा गर्ने हो भने त्यो भन्दा बढी रकम देशमा नै कमाउने दाबी गर्नुभयो । नेपालीले त्यसरी काम गर्ने हो भने कामको लागि विदेश जानु नपर्ने पनि उहाँको धारणा छ ।








प्रतिक्रिया