
उर्लाबारी, ५ असोज । अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखमा खेमराज कार्कीलाई अविलम्ब निलम्बन नगरे त्यसबाट हुनसक्ने क्षतिको भागिदार क्याम्पस सञ्चालक समिति हुने कडा चेतावनी दिएको छ ।
शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले शनिबार बिहान क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुखको पदमा खेमराज कार्कीलाई गरिएको पुनर्बहालीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अध्यक्ष गौतमबद्ध तामाङ र सचिव चिराग श्रेष्ठ दिङ्लेले जारी गर्नुभएको एक विज्ञप्तिमा क्याम्पस प्रमुखजस्तो जिम्मेवारपूर्ण पदमा हाल विवादित रही नैतिक तथा सामाजिक रुपमा कलंकित भएका कार्कीलाई निलम्बन गर्नुपर्नेमा सञ्चालक समितिले पुनः क्याम्पस प्रमुखको जिम्मेवारीमा बहाल राख्ने गरेको निर्णय आपत्तिजनक तथा खेदपूर्ण रहेको जनाइएको छ । सञ्चालक समितिले दूरगामी प्रभाव पार्ने विषयमा निर्णय गर्नुपूर्व विद्यार्थीको भावना, क्याम्पसको भविष्यमाथि नै खेलवाड गरेको भन्दै अविलम्ब फिर्ता नगरे त्यसबाट हुन सक्ने क्षतिमा सञ्चालक समिति नै जिम्मेवार हुने अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटीले जनाएको छ ।








प्रतिक्रिया