२६ असार २०८३, शुक्रबार

मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनुभएको छ ।

शनिबार लमजुङको बेँसीसहर नगरपालिका-७ मा आयोजित एमाले लमजुङको तेस्रो बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता संविधानका आधारभूत विशेषताहरूमा अहिले कुनै संशोधन नहुने स्पष्ट पार्नुभयो । साथै, उहाँले कांग्रेस-एमालेको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘संविधान जारी भएपछि प्रत्येक १०/१० वर्षमा संविधानको पुनरावलोकन गर्न सक्ने संवैधानिक व्यवस्था छ । आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधानका केही बुँदाहरुमा संशोधन हुन्छ ।’ उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, ‘अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषताहरूमै परिवर्तन हुन लागेको होइन । त्यस्तो कसैले गर्न सक्दैन । खासगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा अहिले छलफलै हुँदैन, यसलाई हटाउने कुरा त धेरै टाढाको हो ।’

उहाँले स्थायी सरकारका लागि संविधान संशोधन आवश्यक भएको र त्यसका लागि केही फेरबदल गर्नुपर्ने कुरा सबैले महसुस गरेको बताउनुभयो । जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक रहेको पनि उहाँको भनाई थियो ।