२३ असार २०८३, मंगलबार

प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेका छौँ : मुख्यमन्त्री कार्की

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ ।

शनिबार २४औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौँ ।’

प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाइ रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य ऐनमार्फत् प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताउनुभयो । नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकीय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीले औंल्याउनुभयो ।

सम्मेलनमा देशभरका करिब तीन सय दन्तचिकित्सक भेला भएका छन् । सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुती गर्ने तयारी छ । सम्मेलनबाट आगामि दिनमा गर्नसकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा दाँतसम्बन्धी उपचारका मेसिन र विभिन्न प्रविधिसम्बन्धी उपकरणहरूसमेत प्रदर्शन गरिएको छ ।