
सुर्खेत, ४ असोज । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका राजनीतिक पार्टीहरू मध्ये एमाले सर्वाधिक लोकप्रिय पार्टी रहेको बताउनुभएको छ ।
पेसागत महासंघ नेपाल कर्णाली प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको नीति र नेतृत्वमा कुनै मतभेद नरहेको बताउनुभयो ।
‘नेपालको सन्दर्भमा निष्ठा, त्याग र समर्पण भएको कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो । विगतदेखि नै नेता, नेतृत्व र विचारका सन्दर्भमा पार्टी सदस्यहरूबीच एकता भएको पार्टी नेकपा (एमाले) हो ।’ नेता कँडेलले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘विगतको निर्वाचनले नेकपा (एमाले)लाई के सिकायो भने अभिलेखमा धेरै पार्टी सदस्य बनाउँदैमा चुनाव जितिँदो रहेनछ । त्यसैले अहिले हामी आफ्ना सदस्यहरूलाई अभिलेखीकरण गर्ने, प्रशिक्षित गर्ने र विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका छौँ ।’
नेता कँडेलले त्याग, बलिदान र निष्ठाको महत्त्वबारे बोल्दै भन्नुभयो, ‘खाली प्रतिपक्षमा मात्र रहँदा त्याग, बलिदान, निष्ठा हुनुपर्ने मेरो विचारमा त्यस्तो होइन । त्याग समर्पण निष्ठा सदावहार एउटा असल नागरिकका लागि चाहिने कुरा हो । राजनीतिक पार्टी सत्ता पक्षमा होस् या प्रतिपक्षमा होस् निष्ठा पूर्वक अगाडि बढ्ने कुरामा कमी रहँदा कहिले कहीँ विश्वासमा संकट पर्ने परिस्थिति उत्पन्न हुने रहेछ ।’









प्रतिक्रिया