८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रिपरिषद् सदस्यहरुले बिदाइ गर्नुभयो ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तय भएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै, उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा र असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः संक्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उहाँले भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।