
काठमाडौं, ३ असोज । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई १० लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।
पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनुभएको छ ।
त्यसैगरी, तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल, र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

‘यो सम्मानले हामी पारा खेलाडीहरुको हौसला झन् बढाएको छ र अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उदेश्य रहेको छ । एनपीसीसँगको सहकार्यमा हाम्रो ओझेलमा परेको पारा खेलकुदको विकासमा योगदान पुर्याइदिनु भएकोमा एनसेलप्रति आभारी छु ।’ पलेशाले भन्नुभयो ।
पारा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो । सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री चौधरीलगायतले एनसेललाई सम्मान गर्नुभएको हो ।

‘एनसेल फाउन्डेसनको भर्खरै भएको शुमारम्भसँगै देशको लागि ऐतिहासिक पदक दिलाउन सफल पलेशासहित अन्य पारालिम्पियनलाई नगद पुरस्कारले सम्मान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भन्नुभयो, ‘एनपीसीसँगको सहकार्यमा हामी राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै एक बलियो साथ दिन प्रतिबद्ध छौँ ।’
पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उहाँलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो ।
एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस सहकार्यअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहयोग गर्दै आएको छ ।









प्रतिक्रिया