काठमाडौं, १ असोज। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूको प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बताउनुभयो ।
‘माओवादी आन्दोलन मात्र हो, पार्टी नै होइन, पार्टी बनेकै छैन’, उहाँले भन्नुभयो । पोखरेलले नेकपा एमाले नेपाको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको उहाँले दाबी गर्नुभयो । परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामर्थ्य राख्ने पार्टी बिरलै भएको पोखरेलले बताउनुभयो । त्यसैले नेकपा एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको उहाँले सुनाउनुभयो ।
उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल एकताको लागि नआएको कारण नेकपा फुटेको पोखरेलले बताउनुभयो । प्रचण्ड प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको पोखरेलका निष्कर्ष छ । प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा फुटेको उहाँले बताउनुभयो । ‘प्रचण्ड सहकार्य गर्ने मान्छे होइन, आदेश दिने मान्छे हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ’, उहाँले भन्नुभयो ।
शक्ति केन्द्रले साथ दिएको कारण प्रचण्ड आफ्नो राजनीति सफल भएको पोखरेलको विश्लेषण छ । ‘उनीहरूको साथ नभएको भए उनको अवस्था हेर्न लायकको हुन्थ्यो’, उहाँले भन्नुभयो ।
पोखरेलले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको दाबी गर्नुभयो । २०८४ सालको निर्वाचनमा माओवादी राष्ट्रिय दलसम्म बन्न सक्ने भए पनि त्यस पछि राष्ट्रिय मान्यता प्राप्त दल पनि नबन्ने उहाँको ठम्याई छ । यो माओवादी प्रतिको अपमान नभई सम्मान नै गरेको उहाँले बताउनुभयो । ‘औचित्य सकिएको पार्टी राष्ट्रिय पार्टी हुन्छ भन्नु उसको विगतको भूमिको सम्मानै गरेको हो भन्ने बुझ्नु पर्दछ, भविष्यको आँखाबाट हेर्ने हो भने अब माओवादी भई रहनुको औचित्य छैन’, उहाँले भन्नुभयो ।
अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने पोखरेलले बताउनुभयो । नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुवीकृत हुने पोखरेलले दाबी गर्नुभयो ।
साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकोले देशका ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका पोखरेलले बताउनुभयो । यसको सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको पनि पोखरेलले बताउनुभयो ।