२३ जेष्ठ २०८३, शनिबार

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौँ : रवि लामिछाने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीप्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ ।

उहाँले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफूहरुले अवमूल्यन नगर्ने स्पष्ट गर्नुभयो । सभापति लामिछानेले आफूहरु राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरुको आगमननै अरुको लागि समस्या बनेको बताउनुभयो । उहाँले आफूहरुको आक्रमण पनि ठूलो हुने हुनाले आफूहरुप्रतिको आक्रमणपनि ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबी गर्नुभयो । यो लडाईमा आफूहरुलाई हार्ने छुट नभएको बताउँदै आफूहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताउनुभयो । उहाँले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताउनुभयो ।

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको भन्दै आफूलाई गोर्खा मिडिया सञ्चालनमा जवाफदेही भएको समितिले ठहर गरेको बताउनुभयो ।

बुधबारसम्म जारी रहने भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा छलफल हुनेछ ।

रास्वपाकाअनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिदैँ छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्ने पार्टीले जनाएको छ ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।