
काठमाडौं, ३१ भदौ । सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर हुनुभएको छ । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो ।
गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिनुभएको छ ।
रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ । समितले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसद्मा पेश गर्दैछ ।
समितिका सभापति सूर्य थापाले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लाग्नुभएको हो । थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । सुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।
समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्वपदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।
समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहनुभएको छ भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्रप्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् रहनुभएको छ । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडूले समितिको सदस्यको रुपमा काम गरिरहनुभएको छ ।








प्रतिक्रिया