
काठमाडौं, ३१ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसद्मा पेश गर्ने भएको छ । समितका सभापति सूर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्नुहुनेछ ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । सुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।
समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्वपदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।
समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहनुभएको छ भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहनुभएको छ ।








प्रतिक्रिया