
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गर्दै यस विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताउनुभएको छ ।
उहाँले पछिल्लो समयमा आफ्नो फेसबुक इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका उल्लेख गर्नुहुँदै साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्नेबारे छलफल भइरहेको जानकारी गराउनुभएको हो ।
‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौँ । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौँ । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ- ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’ आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधै झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’
प्रधानमन्त्री ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नागरिकहरूलाई आफ्ना समस्याहरू सरकारलाई जानकारी गराउन आग्रह गर्दै भन्नुभयो, ‘तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधै झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’









प्रतिक्रिया