
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गर्नुभयो ।

‘अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जानी नजानी एक खालका मानिसहरुबाट नकारात्मक महौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नु पर्दैन । भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ ।’

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न आग्रह गर्दै उहाँले नेकपा (माओवादी केन्द्र)को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गर्नुभयो ।
अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरुलाई गतिशील बनाउँदै समस्याहरुको खोजी र निदान हुने अपेक्षा गर्नुभयो ।









प्रतिक्रिया