७ असार २०८३, आइतबार

सरकारी र निजी अस्पतालको सेवा प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री आचार्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै नीजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनुभएको छ ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधि व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्दै नीजि क्षेत्रका अस्पताललाईसमेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउने बताउनुभयो ।

प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।  बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो ।

‘१२ सय अस्पतालले पूर्णता पाएपछि औषधि व्यवसाय फस्टाउने छ । आर्थिक कारोबार बढ्ने छ । बुटवल आर्थिक हव बन्छ ।’ उहाँले भन्नुभयो, ‘प्रादेशिक अस्पतालको भवन निर्माणमा चालू आर्थिक वर्ष १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबै हिसाबले उच्च प्राथमिकतामा राखेको छ ।’

मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राख्नु भयो । औषधि व्यवसायको नाममा हुने लागू औषधको कारोबार र औषधि विभागले स्वीकृति नदिएका औषधिको बिक्रीवितरणमा कडाइ गरिने उहाँले बताउनुभयो ।

‘व्यवसायीकतालाई ख्याल गरेर अघि बढ्नुस । मानिसको जीवनको संवेदनशील क्षेत्र स्वास्थ्य क्षेत्र हो ।’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा यहाँहरुले पुर्‍याएको योगदानको सम्मान गर्न चाहन्छु । उपचारको लागि सेवा गर्नु भएको छ। अप्ठ्यारो अवस्थामा पनि औषधिको अभाव हुन दिनु भएन ।’